कुर्ले ढुकुर
ढुकुर धेरै प्रकारका हुन्छन् तीमध्ये नेपालमा तीन थरी ढुकुर पाइन्छन्- तामे ढुकुर, सुन ढुकुर र कुर्ले ढुकुर । आकारमा तामे ढुकुर अलिक ठुलो हुन्छ, यसको रङ्ग फुस्रो सेतो हुन्छ हेर्दा खासै आकर्षक देखिँदैन र यसले कुर्लिएको आवाज पनि खासै आकर्षक हुँदैन, रुखो र बिरसिलो हुन्छ, आवाजमा मिठास हुँदैन । सुन ढुकुर घना जङ्गलमा बस्छ, यसको घाँटी वरिपरि हलुका सुनौलो र हलुका बैजनी रङ्गको प्वाँख हुन्छ अनि रातको पहिलो प्रहरमा बिरसिलो स्वर निकालेर बास्ने गर्दछ । कुर्ले ढुकुर चाहिँ साइजमा अलिक सानो हुन्छ, यसका जीउ भरी मसिना बुटै बुट्टा हुन्छन् र हेर्दा ज्यादै आकर्षक देखिन्छ । यसले कुर्लिएको ज्यादै सुमधुर र विरह लाग्दो सुनिन्छ। एकान्तमा कुर्ले ढुकुर कुर्लिएको सुन्दै धुरुधुरु रोएर बस्नेहरू पनि हुन्छन् । कुर् ढुकुर कुर् कुर् कुर् कुर् कुर्। यो कुर्लेढुकुरको आवाज हो। तर लिम्बू समुदायकाहरुले चाहिँ यो आवाजलाई अलिक फरक सुन्दछन् भन्ने विश्वास गरिन्छ आ साक्पोक् तुर् तुर् तुर् तुरु तुर् । यस सन्दर्भमा सङ्खुवासभाका लिम्बू समुदायमा प्रचलित मिथक यस्तो रहेको छ।
एक जोडा नव विवाहित लिम्बू दम्पती थिए, उनीहरूमा गहिरो मायाप्रीति थियो। लोग्ने ज्याला मजदुरी गरेर कमाइ गर्दथ्यो, स्वास्नी घरमा गृहिणीको काम गर्दथी। गरिब भए पनि उनीहरूको घर संसार सुखमय थियो किनभने उनीहरू जे छ त्यसैमा सन्तोष गरेर रमाएका थिए । समय क्रममा उनीहरूकी बत्तीस लक्षणले युक्त एउटी छोरी जन्मिई, उनीहरूको घरमा झनै खुसीयाली थपियो। छोरी बढ्दै गई र तोते बोली बोल्न थाली । एकदिनको कुरा हो, दिउँसो घरमा लिम्बुनी सानी छोरीसँग रमाएर बसिरहेकी थिई त्यत्तिकैमा उसको नजर घरको दलिनमा गौँथलीको गुँडमा परेछ, त्यहाँ एक जोडा गौँथलीले चार वटा रहरलाग्दा चल्ला काढेका थिए अनि भाले पोथी दुवै मिलेर ती चल्लाहरूलाई पालैपालो गरेर चारो ख्वाइरहेका थिए । यो दृश्य बहुत रमाइलो थियो। पोथी गौँथलीले मुखमा चारो चेपेर ल्याइ बच्चालाई ख्वाउन लागेकी थिई, भोकाएका बच्चाहरू मुख आँ आँ गरिरहेका थिए, अचानक एउटा चकचके केटाले गुलेलीले प्याट्ट हानेर पोथी गौँथलीलाई ठहरै पारिदियो, बच्चाले चारो खान पनि भ्याएनन् । ती भोका चल्लाहरू अचानक टुहुरा भएको देखेर लिम्बुनीलाई बहुतै दुख लाग्यो । केही गरी म पनि यसै गरी प्याट्ट भरेँ भने मेरी छोरीको कति बिजोक हुन्छ होला, लोग्नेले अर्को बिहे गरेपछि सौतेनीमाले कति दुख देली भन्ने सम्किँदा उसलाई भक्कानो फुटेर आयो, दिनभरि रोएर बसी । बेलुका लोग्ने आएपछि त्यही कुरा रुँदै लोग्नेलाई सुनाई। लोग्नेले आश्वासन दियो – हत्तेरिका । के नचाहिँदो कुरा सोचेकी। पहिलो कुरा त तिमी मर्दै मर्दिनौ, केही गरी भवितव्य परिहालेछ भने पनि म कुनै हालतमा अर्को बिहे गर्दिन । छोरीलाई तिमीले जत्तिकै माया गरेर पाल्छु । यो सुनेपछि उसलाई अलिक सान्त्वना मिल्यो ।
अब छोरी चार वर्षकी भई। दैवको लीला कसले जान्दछ र । चार वर्षकी छोरीलाई टुहुरी बनाएर अचानक लिम्बुनर्नाको मृत्यु भयो । यतिन्जेलको सुखी परिवार अब शोकमा डुब्यो । बाबु चाहिँले अब आमाको पनि भूमिका निभाउँदै छोरीको लालन पालन गर्न थाल्यो । इष्टमित्र शुभचिन्तकहरूले उसलाई अर्को बिहे गर्ने सल्लाह दिनथाले तर उसले पहिले श्रीमतीलाई दिएको वचनको स्मरण गर्दै कुनै हालतमा अर्को बिहे नगर्ने अडान लियो ।
खाँदबारी मुडुलेचौरस्थित मङ्गलादेवी मन्दिरसम्बन्धी मिथक अनुसार तीन खोप्रे मगर गाउँकी मङ्गलादेवी मगर नाम गरेकी महिला आफ्नो सानो छोरालाई कोक्रामा बोकेर डुल्दै डुल्दै मुडुलेचौर आइपुगिन् । त्यहाँ एउटा अर्चलको बोटमा अर्चल लटरम्म फलेर पाकी राखेका थिए। हेर्दै खाउँखाउँ लाग्ने अर्चल देखेर उनलाई त्यो अर्चल छोरालाई पनि ख्वाउने अनि आफू पनि खाने बिचार आएकाले त्यही रुखको फेदमा कोक्रो बिसाएर अर्चल टिप्न रुखमा चढिन् । त्यही बेला कताबाट एउटा बाघ आइपुग्यो र कोक्राबाट बच्चालाई टिपेर नजिकैको कटुसको बोटतिर भाग्यो। ती महिला आतङ्कित भएर चिच्याउँदै बच्चाको बचाउ गर्न हतार हतार रुखबाट उत्रन थालिन् तर अचानक खुट्टो चिप्लियो र उनी रुखबाट लडेर ठहरै भइन्। यसरी आमा र बच्चा दुवैको अकाल मृत्यु भएपछि उनीहरू वायु भए। केही दिनपछि त्यही ठाउँका एक जना मगरले एउटा अनौठो सपना देखे। सपनामा तिनै मगर्नी महिलाले भनिन् म र मेरो छोराको अकाल मृत्यु भएर हामी दुवै वायु भएका छौँ । अब म मगरहरूकी कुलदेवी हुन चाहन्छु । त्यस कारण त्यही अर्चलका फेदमा मङ्गलादेवीको थान बनाएर मगर पुजारीबाट पूजा आराधना गराउनु अनि कटुसका फेदमा मेरा छोराको पनि वायुधान बनाएर पूजाआजा गराउनू । त्यसबाट तिमीहरू सबैको कल्याण हुन्छ, बस्तुभाउ सप्रिन्छन्, मान्छेको रोगब्याध जान्छ, बालीनालीमा सह आउँछ । हरेक मङ्गलवारका दिन परेवा, कुखुरा, बोका, सुँगुर पाठा जे हुन्छ त्यसैको भोग दिएर पूजा गर्नु । यहाँका मगरहरुलाई जूठोसूतक परेका बेलामा चाहि पूजाआजा नगर्नु निः। त्यसपछि सपनामा भनेजस्तै गरेर अर्चलको फेदमा मङ्गलादेवी थान र कटुसका फेदमा वायुधान स्थापना गरियो । मंगलादेबीले मगरहरूकी कुलदेबीको हैसियत प्राप्त गरिन् ।