बाह्रबिसे गाविसमा पर्ने पावा भन्ने गाउँमा बढीजसो विश्वकर्मा थरका जातको बसोबास छ। उनीहरूले पनि परम्पराबाटै फलामका औजार बनाउने पेशा अँगाल्दै आएका छन् । वैदेशिक रोजगारीमा जाने मानिसको संख्यामा देखिएको बढोत्तरीसँगै कृषि कार्यमा लाग्ने मानिसको संख्या गाउँघरमा पनि घट्दै गएको छ । उता बजारमा स्टीलका चक्कुजस्ता साना हतियारहरू उपलब्ध हुन थालेका छन् । त्यसैले अन्यत्रका विश्वकर्माहरूको पेशा संकटमा पर्दै आएको छ । तर पावाका विश्वकर्माहरू भने मालमाल छन् ।
छिमेकी जिल्ला भोजपुर खुकुरीका लागि प्रख्यात छ । तर आजकल भोजपुरे खुकुरी भोजपुरमै पनि त्यति मन पराइँदैन । बरु संखुवासभाको पावाका विश्वकर्माहरूले बनाउँदै आएको पावाली खुकुरी चाहिँ उनीहरूको पनि रोजाइमा पर्न थालेका छन् । भोजपुरे खुकुरीभन्दा केही लामो तर चौडाइमा भने कम हुने पावाली खुकुरीलाई ‘सिरूपाते’ खुकुरी भनिन्छ। पावाली विश्वकर्माहरूले खुकुरी बनाउने कच्चा पदार्थ फलाममा कुनै सम्झौता गर्दैनन् । गाडीको पत्तामा प्रयोग हुनेजस्तो एक नम्बरको फलामबाट मात्र उनीहरूले खुकुरी बनाउने गरेका छन् । उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग, निर्माणमा गरिने कडा मेहनत र छरितो आकारका कारण पनि पावाली खुकुरी संखुवासभा, भोजपुर, धनकुटा, धरानतिर निकै लोकप्रिय छ । उच्च गुणस्तरको फलामको मात्र प्रयोग हुने भएकाले पावाली खुकुरीमा धार दोब्रिने, छिट्टै भुत्ते हुनेजस्ता समस्या आउँदैन ।
पावाली खुकुरीलाई संखुवासभामा पैसा टिप्ने खुकुरी पनि भनिन्छ । खुकुरीको धार सिक्कामाथि राखेर खुकुरी उठाउँदा पैसा टिपे त्यसलाई उत्तम मानिन्छ । उता पावाली विश्वकर्माहरूले खुकुरीको बौंड राख्ने काठ र दापको काठमा पनि सम्झौता गर्दैनन् । पिप्लाकै काठको बौंड बनाइन्छ भने दाप बनाउन तिल्केको काठ प्रयोग गरिन्छ । पिप्लाको काठ हत्तपत्त फुट्दैन भने तिल्के काठ रोगन नगरिए पनि बुट्टाटारजस्तो देखिन्छ । हुन त पावाली विश्वकर्माहरूले उत्पादन गर्ने गरेको खुकुरीको माग स्थानीय तहमै यति उच्च छ कि उनीहरूले मागअनुसार उत्पादन गर्न नै भ्याइरहेका छै नन् । तर पनि पावाली खुकुरीको फराकिलो बजारीकरणमा केही समस्या छन् । पावाली विश्वकर्माहरूमा ठूलो कारखाना नै सञ्चालन गर्नसक्ने आर्थिक क्षमता नहुनु, बजारको खोजी उनीहरूका मुख्य समस्या हुन् । त्यस्तै भनेजस्तै र चाहिए जत्तिको परिमाणमा कच्चा पदार्थ उपलब्ध नहुनु पनि अर्को समस्या हो। पावाली खुकुरीले व्यवसायिक सफलता पाउनसक्ने सम्भावना भने प्रशस्तै रहेको छ ।